Wednesday, May 26, 2010

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीको हत्या/ज्यादती भो: गृह

काठमाडौ, जेष्ठ १३ - गृह मन्त्रालयले भारतीय सीमा सुरक्षा बलको ज्यादतीपूर्ण व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय सुरक्षा बलका अधिकृतहरूले एक टिन खानेतेल नेपालतर्फ ल्याएको विषयमा विवाद गर्दै नेपाली भूमिमा प्रवेश गरी गोली प्रहार गरेको घटनाका विषयमा मन्त्रालयले त्यस्तो ध्यानाकर्षण गराएको हो । घटनामा ५५ वषर्ीय वासुदेव साहको मृत्यु भएको थियो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार नेपाली भूमिमा भारतीय प्रहरीले गोली प्रहार गरेलगत्तै प्रतिकारस्वरूप नेपाल प्रहरीले पनि दुुई राउन्ड हवाई फायर गरेपछि भारतीय प्रहरी चढेर आएको मोटरसाइकल छाडेर फरार भएका थिए । प्रहरीले घटनास्थलबाट भारतीय प्रहरीले भाग्ने क्रममा छाडेका बीआर३८बी००३६ नम्बरको मोटरसाइकल, ९ एमएम पेस्तोलको खोका र कर्ड बरामद गरेको छ । दुवै पक्षबीच गोली हानाहान भएपछि उत्पन्न भएको विवाद साम्य पार्न प्रहरी निरीक्षकस्तरमा अधिकृतहरूले वार्ता गरेका थिए ।
मन्त्रालयले गोली हान्ने दोषीलाई कडा कारबाही गर्न र मृतकका परिवारलाई राहत व्यवस्था गर्न मंगलबार परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको जनाएको छ । 'मोरङको अमाहिवरियाती क्षेत्रमा नेपाल-भारत सीमाबाट दैनिक उपभोग्य सामान ओसारपसार गर्ने विषयलाई लिएर नेपाल र भारतका सुरक्षाकर्मीबीच विवाद भएको हो,' मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, 'सोही दिन बेलुका साढे ८ बजे नेपालस्थित अमाहिवरियाती प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारसहित दुईजना गस्तीमा निस्किएको अवस्थामा भारतीय सीमा सुरक्षा बलका इन्स्पेक्टर हितैन्द्र सिंहसहित दुई जवान सादा पोसाकमा आएका थिए ।'
विज्ञप्तिअनुसार उनीहरू सीमाभन्दा करिब दुई सय मिटर नेपालतर्फ प्रवेश गरी इन्स्पेक्टर सिंहले आफ्नो साथमा ल्याएको पेस्तोलबाट फायर गर्दा साहलाई दायाँ छातीमुनि गोली लागेको थियो । उनको उपचारका क्रममा कोसी अञ्चल अस्पतालमा निधन भएको थियो

No comments:

Post a Comment